
बिरगंज , माघ १६ गते आइतबार ।
अवैध सम्बन्ध खुल्ने डरले वीरगञ्जमा एक १० वर्षीय बालिकाको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बालिकाको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने मोती पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका पटेलले वीरगञ्ज– १६ घर भई वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्ने सरोज महतो कुश्वाहाकी १० वर्षीय छोरी रिजवाना महतोको हत्या गरेको प्रहरीले जनाएको छ।
गत पुस २४ गते रिजावानाको शव हत्या गरिएको अवस्थामा वीरगञ्ज–१६ कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन घरमा भेटिएको थियो। प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका पटेलले नै हत्या गरेको जनाएको छ। पक्राउ परेका पटेलको अवैध सम्बन्धको बारेमा मृतक बालिकाले थाहा पाएकोले उनको हत्या भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
आफ्नो अवैध सम्बन्धको बारेमा खुलासा हुने डरले पटेलले बालिकाको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको खनालले बताए। ‘पटेलको अवैध सम्बन्ध बालिकाले देखेकी थिइन्’, उनले भने, ‘त्यसको खुलासा नहोस् भनेर नै पटेलले हत्या गरेको देखिएको छ।’
पटेललाई वीरगञ्ज–१६ ईनर्वास्थित नेपाल भारत सीमा नजिकैबाट पक्राउ गरिएको उनले बताए। पक्राउ परेका पटेल विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




