
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारीहरु विगत १५ वर्षदेखि काजमा रहेका पाइएको छ । पर्सा जिल्लामा दरबन्दी भएका कर्मचारीहरुलाई पर्सा जिल्ला आउन धौधौ परिरहेको अवस्थामा यहाँबाट अन्यत्र सरुवा भइसकेका अधिकांश प्रहरी कर्मचारीहरु विगत १५ वर्षदेखि पर्सामै काजमा खटिदै आएका छन् ।
प्रहरी नायब निरीक्षक रञ्जन सिंह, मोहन आले, प्रसनि मित्र राई, मनमाया राई, ज्ञान बहादुर श्रेष्ठ, प्रज लालबाबु साहलगायत २ सय ५० जना भन्दा बढी प्रहरी कर्मचारीहरु विगत ३ देखि १५ वर्षअघिबाट पर्सामा काजमा खटिदै आएका छन् । प्रसनि मित्र राई र मनमाया राई प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक हुँदासम्म हालसम्म जिल्ला प्रहरी कार्यालय पर्सामै काजमा खटिदै आएका छन् ।
पर्सा जिल्ला प्रहरी कार्यालयमा १२ सय ६९ जना प्रहरी कर्मचारीहरुको दरबन्दी रहेकोमा ९ सय ३० जना कार्यरत छन् । जसमा करीब ३ सयको हाराहारीमा प्रहरी कर्मचारीहरु काजमा कार्यरत छन् । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीले संगठनका कर्मचारीहरुलाई दरबन्दी पठाउने कामलाई तीब्रता दिइरहेको अवस्थामा केही प्रहरी कर्मचारी पर्सा जिल्लामा विगत १५ वर्ष अघिबाट काजमा खटिदै आएका पाइएको हो ।
यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले विभागले चाहे अनुसार जति दिनसम्म पनि काजमा राख्नसक्ने बताए । उनका अनुसार केही प्रहरी कर्मचारी विगत ५ वर्षदेखि पर्सामै काजमा छन् तर स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अन्यत्र सरुवा भएका प्रहरी कर्मचारीहरु आफ्नो दरबन्दीमा जाने र यहाँ दरबन्दी भएकाहरु आउने भएका छन् ।
यता नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले संगठनले कामको आधारमा चाहे अनुसार जो सुकैलाई जहाँपनि जति दिनसम्म काजमा राख्न सक्ने बताए । उनका अनुसार प्रहरी कर्मचारीलाई ३० वर्षसम्म पनि काजमा खटाउन सक्ने बताए । news24nepal.tv




