अविवाहित वृद्धलाई पनि भत्ता

६० वर्षसम्म विवाह नगर्नेलाई गण्डकी गाउँपालिकाले दिने भयो मासिक १५ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता

गण्डकी गाउँपालिकाले अविवाहित वृद्धलाई मासिक १५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गत असारको गाउँसभाबाट पास गरेर चालु आर्थिक वर्षबाट भत्ता उपलब्ध गराउन लागेको हो ।

एकल पुरुष सामाजिक सुरक्षा भत्ता सञ्चालन कार्यविधि २०७८ निर्माण भइसकेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका प्रमुख रिम्क गुरुङले बताए । ‘६० वर्षसम्म पनि अविवाहित रहने पुरुषको विवरण संकलन पनि सक्यौं, नियमित भत्ता बाँड्ने क्रममा अब तेस्रो चौमासिकमा चालु वर्षको एकमुष्ट रकम वितरण हुन्छ,’ उनले भने । भत्ता पाउने त्यस्ता वृद्धको बैंक खाता खोल्ने कार्य पनि सकिएको छ ।

गाउँपालिकाभरबाट ५ जना सूचीकरण भएको उनले बताए । गण्डकी–२ ताङलीचोकका २, वडा ६ भुम्लीचोकका २ र वडा ८ घ्याल्चोकका एकजना अविवाहित वृद्ध भत्ताका लागि सूचीकृत भएका हुन् । चालु आवको नौ महिना अवधिको मासिक १५ सयका दरले तेस्रो चौमासिकमा एकमुष्ट भत्ता उपलब्ध गराउन सबै प्रक्रिया सकिएको गुरुङले बताए ।

६० वर्षको उमेरसम्म विवाह नै नभएको व्यक्तिले भत्ता पाउने कार्यविधिमा छ । विवाह नगरेको प्रमाणका लागि त्यस्ता हकवालाको सामाजिक मुचुल्का गरिएको छ । ‘उहाँहरूको घरगाउँमा पुगेर छिमेकीलाई साक्षी राखी सामाजिक मुचुल्का उठाउने काम भयो, त्यसको आधारमा वडाले सिफारिस गरेपछि बल्ल सूचीकृत गर्‍यौं,’ उनले भने । विवाह गरेर छाडेकाले भने यस्तो भत्ता प्राप्त गर्ने छैनन् । गाउँपालिकाका अविवाहित वृद्धमध्ये केही दाजुभाइ वा आफन्तसँग बसेका छन् भने कोही एक्लै छन् ।

अविवाहित वृद्धलाई जीवन निर्वाहमा सजिलोका लागि भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ‘७० वर्षपछि ज्येष्ठ नागरिक भत्ता पाउँछन्, ६० देखि ७० को १० वर्षका लागि भए पनि गाउँपालिकाले उपलब्ध गराएको यो रकम जीवन निर्वाहमा सहज हुन्छ,’ उनले भने ।

यस नीतिले गाउँपालिकाले लिएको सामाजिक सुरक्षा कार्यक्रमको विद्यमान नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वनय गर्न सहज हुने र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनेको अपेक्षा छ । गत असारको गाउँसभाले अविवाहित वृद्धसहित लैंगिक अल्पसंख्यक (तेस्रो लिंगी) लाई पनि भत्ता दिने निर्णय गरेको थियो । गाउँपालिकामा लैंगिक अल्पसंख्यकको तर्फबाट भने एक जना पनि सूचीकृत नभएको गुरुङले बताए । kantipur daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close