
जीतपुरसिमरा उपमहानगरपालिकाका १६२ वटा सटरको बहाल उठ्न ढिला भएको छ। अहिले जीतपुरसिमरा उपमहानगरको सटर भाडा रु ९६ लाख बक्यौता छ। यसअघि आव २०७६/७७ देखि हालसम्म एक करोड १२ लाख बक्यौता थियो।
उपमहानगरको नेतृत्वमा प्रमुख राजन पौडेल आएपछि भाडादर कम गरिएको र पुस मसान्तसम्म बक्यौता बुझाउनेलाई पाँच प्रतिशत छुटसमेत दिएपछि १६ वटा पसलले करीब रु १६ लाख बुझाएको उपमहानगरको राजस्व शाखा प्रमुख राजु शर्माले बताए। उनले अब १६२ जनासँग ९६ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जानकारी गराएका छन्।
तत्कालीन आदर्श गाविस भवानीपुर जीतपुर हुँदा १६२ वटा सटर निर्माण गरिएको थियो। सटर भाडा लिने प्रत्येकसँग त्यति बेला तत्कालीन गाविस सचिव आसमहमद मियाँले दुई लाख ५० हजार धरौटी लिएर सटर भाडामा दिएका थिए। त्यतिखेर प्रतिसटरको भाडा एक हजार ६०० देखि एक हजार९०० सम्म तोकिएको थियो। २०७४ सालमा जीतपुरसिमरा उपमनपा घोषित भएपछि त्यतिखेरका प्रमुख डा कृष्ण पौडेलले १६२ वटा सटरको भाडा वृद्धि गरेका थिए। उनले प्रतिसटर रु आठ हजार पाँच सय तोकेका थिए। त्यतिखेर व्यापारीहरूले आन्दोलन गरेर भाडा कम गर्न दबाब दिएका थिए तर न भाडा घट्यो, न व्यापारीले भाडा तिरे।
त्यसपछि २०७९ सालमा उपमहानगरको प्रमुख भएका राजन पौडेलले पहिलो बैठकमा १६२ वटा सटरको तीन तहमा वर्गीकरण गरेर भाडा तय गरे। अगाडि रहेका सटरको भाडादर चार हजार ९००, भित्रपट्टि रहेका सटरको दुई हजार ५०० र सबैभन्दा पछाडिको सटरको दुई हजार २०० कायम गरेका थिए। यो दररेट कायम भएपछि अहिले पुस मसान्तसम्म १६ जनाले बक्यौता रु १६ लाख तिरेका छन्।
सटर उपमहानगरको कमाइ बिचौलियाको
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका १६२ वटा सटरमा बिचौलियाहरूले कमाइ गरिरहेका छन्। उपमहानगरसँग कम भाडादरमा सटर लिएर उनीहरूले व्यापारीहरूसँग मोटो रकम असुलिरहेको स्रोतले जनाएको छ।
बिचौलियाहरूले उपमहानगरपालिकाले तोकेको भाडाभन्दा कैंयन गुणा बढी भाडा लिइरहेको सटर लिएकाहरूले बताएका छन्। उनीहरूले १० देखि १५ हजार रुपैयाँसम्म बिचौलियाले भाडा लिने गरेको बताए।
तत्कालीन गाविसले निर्माण गरेको यी सटरमध्ये तीनवटा सटर भाडामा लिंदा वडा नं ७ का अशोक साह रौनियारले प्रतिसटरबापत दुई लाख ५० हजार गाविसमा धरौटी राखेका थिए। उनले प्रमोद साह तेलीलाई १२ लाख धरौटी लिएर तीनवटै सटर भाडामा दिएका थिए। तेलीले पनि १५ लाख धरौटी लिएर सन्दीप गुप्तालाई तीनवटा सटर दिएको स्रोतले जनाएको छ।
यसैगरी, १६२ वटा सटरमध्ये २५ प्रतिशत व्यापारीले मात्र उपमनपाले तोकेको दररेटमा सटरमा व्यापार गरिरहेका छन्। बाँकी सटरवालाहरू बिचौलियामार्फत छन्। जीतपुरसिमरा उपमनपाको राजस्व फाँटका प्रमुख राजु शर्माले आगामी वर्षदेखि बडाबड प्रक्रियाबाट सटर भाडामा लगाउने बताए। उनले सटरको दुरुपयोग भइरहेको र नगरपालिकालाई कम मुनाफा र बिचौलियालाई बढी मुनाफा भइरहेकाले बिचौलियाप्रथा हटाउन उपमनपाले सटर भाडा बढाबढबाट लगाउने तयारी गरेको बताए। eprateekdaily




