
वीरगंज । मधेस प्रदेशमा काज भएर आएका प्रहरी बरिष्ठ नायब निरीक्षक रमेश बजगाईं विगत डेढ महिनादेखि होटलमा बास बसेर पर्सा जिल्लाको क्राईम शाखा चलाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको आफ्नै बस्ने क्वाटर तथा खाने मेस भएपनि डेढ महिनादेखि बरिष्ठ सई बजगाईँले ४/४ वटा कोठा लिएर उनी सहित ६ जना प्रहरी भारतीय दुतावास नजिकै रहेको होटल विजय ज्योतिमा बस्दै आएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले देशभरका १७ सय बढी काजमा रहेका प्रहरीलाई काज फिर्ता गरेको भएपनि बरिष्ठ सई बजगाईँलाई भने काजबाट पुनः काजमा पर्सा ल्याइएको छ । ललितपुरमा दरबन्दी रहेका उनी काजबाट मधेश प्रदेश जनकपुरमा हाजिर भएका थिए त्यसपछि हाल उनी पहुँचको आधारमा पर्सामा क्राइम शाखाको नेतृत्व सम्हालेका छन् । मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेल ललितपुरमा प्रहरी बरिष्ठ उपरीक्षक भएको बेला सँगै रहेर घनिष्ठ भएका प्रहरी बरिष्ठ नायब निरीक्षक रमेश बजगाईँको दरबन्दी ललितपुर मै रहेपनि मधेस प्रदेश मातहत काजमा ल्याएर उनलाई कमाई हुने ठाउँ देखेर पर्सामा राख्न लगाएका छन् ।
उनीसँगै सहायक हवल्दार संतोष धमला समेत बरिष्ठ सई बजगाईँ सँगै होटलमा बसेर क्राइम शाखाको घुमुवाको रुपमा काम गरिरहेका छन् । उनको समेत दरबन्दी काठमाडौँ भएपनि काजमा मधेस प्रदेश आएर पर्सामा पुनः काजमा आएका छन् । यसो त जिल्लाको क्राइम शाखा अपराध अनुसन्धान सम्हाल्ने शाखा हो तर मधेसका कतिपय जिल्लामा भने यो शाखा तस्करी लगायतको सिग्नल यहीँबाट दिने शाखाको रुपमा पनि परिचित छ ।
देशकै सबैभन्दा बढी आर्थिक गतिविधि हुने जिल्ला पर्सा जिल्ला हो । यहाँ पनि क्राइम शाखाले अपराध अनुसन्धानको सूचना जानकारी तथा काम कारवाहीको अलावा विगतका दिनमा प्रहरी प्रमुखको सिग्नलमा मुख्य भन्सार नाका देखी छोटी भन्सार तथा विभिन्न नाकाबाट लता कपडा, खाद्यान्न, हार्डवेयर, भैसिँ, कुखुराको चल्लादेखी विभिन्न किसिमका तस्करीको लाइने दिने शाखाको रुपमा परिचित नभएको हैन ।
नेपाल प्रहरी नियमावली अनुसार एक ठाउँमा काजमा आएका व्यक्ति ६ महिनाबढी बस्न पाउँदैनन् । यससँगै काजबाटै पुनः अर्को ठाउँमा विशेष परिस्थति बाहेक काजमा पुनः पठाउन मिल्दैनन् तर मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको विशेष योग्दानले प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको साठगाठमा प्रहरी नियमावली विपरित पर्साको क्राइम शाखाका बरिष्ठ सई बजगाईँको जिम्मेवारीमा लगाएको छ ।
२०७९ सालमा वृद्धि भएको नेपाल प्रहरीको तलब अनुसार ग्रेड संख्या र दर गरेर बढीमा प्रहरी बरिष्ठ नायब निरीक्षक ४३ हजार ७ सय ३२ तलब स्केल रहेकोमा उनी बस्दै आएको होटलले कम्तीमा २ हजार रुपैयाँ लिने गर्दछ । यस प्रकारले सईले कमाउने भन्दा बढी होटलको बिल भपाई कसरी तिरिरहेका होला शङ्काको प्रश्न हो ।
क्राइम शाखा प्रमुख नै किन ?
विगतमा तस्करीको लाइन दिने क्राइम शाखा नै थियो । प्रहरी उपरीक्षक परिवर्तन हुना साथ तस्करी, अपराधसँग जोडिएका शाखा प्रमुखहरू फेरिने पुरानै नजिर हो । सोही नजिरलाई निरन्तरता दिदैँ पर्साका आफ्ना नजिकका प्रहरीलाई राख्ने गरिएको छ ।
विगतमा काम गरिसकेका र तस्करसँग चिरपरिचित रहेका प्रहरी सहजै रुपमा महिनावारी राखिदिने हिसाबले समेत यो शाखामा प्रहरी प्रमुखहरूको विशेष जोड रहन्छ । यसलाई निरन्तरता दिन ६ वर्ष अगाडि नै प्रहरी उपरीक्षक रेवती ढकालका वेला क्राइम सम्हालेका र वडा प्रहरी कार्यालय श्रीपुरमा घुमुवामा समेत बसेका हाल पर्साको ठोरी दरबन्दी रहेको सहायक हवल्दार नविन पाललाई जिल्लाको क्राईम शाखामा ल्याइएको छ । यस्तै ४ वर्ष अगाडि वडा प्रहरी कार्यालय विर्तामा टाइगर प्रहरीको इन्चार्ज भएर काम गरेका सहायक हवलदार उमेश यादवलाई समेत क्राइम शाखाको घुमुवा भएर काम गरिरहेको देखिन्छ ।
यस विषयमा पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कुमार विक्रम थापासँग बुझदा वहाँले अनभिज्ञता प्रकट गरे । क्राइम शाखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक रमेश बजगाईँको विषयमा बुझनै पर्ने बताए । दरबन्दी ललितपुर रहेको र मधेस प्रदेशमा काजमा आएका प्रहरी पर्साको जिम्मेवारीमा पुनः काजमा आएको हुन सक्ने बताए । #jyotidainik




