
सशस्त्र प्रहरी उपरीक्षक दिवंगत सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको “Best Integrity पुरस्कार” यस वर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको छ। वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित एक विशेष समारोहमा यो सम्मान प्रदान गरिएको हो।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, संघका अध्यक्ष हरि गौतम र सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा सुब्बालाई रु. २५,००० नगद राशिसहित सम्मानपत्र प्रदान गरे। यो पुरस्कार सुरक्षाकर्मीको इमानदारी, निष्ठा र समर्पणको उच्च मूल्यांकनको प्रतीक मानिएको छ।
महानिरीक्षक ढकालले पुरस्कृत सुब्बाको कर्तव्यनिष्ठा र निडरताको प्रशंसा गर्दै भने, “सुब्बाको इमानदार कार्यशैलीले संगठनको गरिमा अझ बढेको छ। यस्तो उदाहरणीय सुरक्षाकर्मीलाई सम्मान दिन पाउनु गर्वको कुरा हो।”
पुरस्कारको स्थापना स्व. सुमन थपलियाको नाममा गरिएको हो, जसले आफ्नो सेवाकालमा सत्यनिष्ठा, कर्तव्यपरायणता र राष्ट्रसेवाको गहिरो छाप छोडेका थिए। वीरगंज उद्योग वाणिज्य संघका अनुसार, यो पहल सुरक्षाकर्मीहरूलाई प्रेरणा दिने उद्देश्यले गरिएको हो।
संघका अध्यक्ष गौतमले यो पुरस्कारलाई वार्षिक रूपमा निरन्तरता दिने घोषणा गर्दै निजी क्षेत्र र सुरक्षासंस्थाबीचको सहकार्यले मात्रै दीगो शान्ति र सुरक्षा सम्भव हुने विश्वास व्यक्त गरे।
समारोहमा संघका उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोझ रुंगटा, सचिव प्रेमचन्द्र गोयल लगायत संघका पदाधिकारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।




