बारामा तस्करी रोक्न नेतृत्वमाथि प्रश्न, दलालहरू एसपीसँग फोटो खिचाएर तस्करीको ‘लाइन’ मिलाउने वाचा

बारामा तस्करी रोक्न नेतृत्वमाथि प्रश्न, दलालहरू एसपीसँग फोटो खिचाएर तस्करीको ‘लाइन’ मिलाउने वाचा

बाराको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ठूला कारबाही गरेको खबर आएको छ। मुख्यालयले यहाँ कार्यरत धेरै सई, निरीक्षक र डिएसपीलाई जिम्मेवारीबाट हटाएको छ भने थप अनुसन्धान पनि जारी छ। तर, जिम्मेवारीबाट हटाइएकाहरू मध्ये धेरै दबचामा छन्।

सशस्त्र प्रहरीले कारबाही गरेको भए पनि नेपाल प्रहरीले यतिबेला त्यस्तो कुनै कदम नचालेको बताइन्छ। विगतको तुलनामा बारामा दुई साता यता ठूलो तस्करी गतिविधि कम देखिएको छ। यसको मुख्य कारण नेपाल प्रहरीको कडा भूमिका नभई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमावर्ती क्षेत्रमा कडाइ गरेको हो।

तर, यस्तै समयमा केही दलालहरू एसपीलाई लाइन मिलाइदिने र तस्करी गर्न सजिलो बनाइदिने भन्दै कारोबारी तथा तस्करहरूसँग घुम्न थालेका छन्। दलालहरूले जिल्ला प्रहरी कार्यालय बारामा र सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा एसपीसँग फोटो खिचाएर त्यो फोटो कारोबारीलाई देखाउँदै ‘मेरो एसपीसँग राम्रो सम्बन्ध छ, तस्करीको लाइन मिलाइदिन्छु’ भन्दै २५ हजारदेखि ५० हजारसम्म रकम माग्ने गरेका छन्।

यो समस्या मुख्य कारोबारीहरूमात्र नभई उनीहरूको सामान ओसारपसार गर्ने कामदारहरूलाई समेत असर पुर्‍याइरहेको छ। दलालहरूले रकम नदिएर हैरानी पर्ने समस्या बढेको छ।

यस्ता दलाललाई एसपी तहका अधिकारीहरूले नै किन भेट्न र फोटो खिच्न दिने? कार्यालयमै प्रवेश गर्ने बेलादेखि नै रोक लगाउन सके समस्या टरेको हुन्थ्यो भन्ने प्रश्न उठ्न थालेको छ।

बारामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका प्रहरी नेतृत्व र तिनका नजिकका दलालहरूबिच यस्तो सम्बन्ध देखिनु व्यापारिक र सुरक्षाको क्षेत्रमा चिन्ता बढाउने विषय बनेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close