जिराभवानी गाउँपालिकामा जनप्रतिनिधिद्वारा भव्य स्वागतसहित प्रमुख प्रशासकीय अधिकृत गिरीद्वारा कार्यभार सम्हाल

जिराभवानी गाउँपालिकामा जनप्रतिनिधिद्वारा भव्य स्वागतसहित प्रमुख प्रशासकीय अधिकृत गिरीद्वारा कार्यभार सम्हाल

पर्साको जिराभवानी गाउँपालिकामा हालै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

संघीय सरकार अन्तर्गत सामान्य प्रशासन मन्त्रालयले गत मंगलबार देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्ने क्रममा कालिकामाई गाउँपालिकामा कार्यरत गिरीलाई जिराभवानी गाउँपालिकामा तथा जिराभवानीका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरेको थियो।

सरुवापछि जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले आफ्नो इच्छा र सहमति बिना सरकारले गिरीलाई पठाएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले प्रेस विज्ञप्ति जारी गर्दै गिरीलाई हाजिर गर्न नदिने अडानसमेत सार्वजनिक गरेका थिए।

तर अध्यक्षको असहमतिको बाबजुद गाउँपालिकाका सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आइतबार गाउँपालिका कार्यालयमा गिरीलाई फूलमालासहित भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रममा वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, लेखा तथा प्राविधिक शाखाका कर्मचारीहरू तथा विभिन्न वडाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। स्वागतपछि प्रमुख प्रशासकीय अधिकृत गिरीले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

गाउँपालिका अध्यक्ष चौधरीले सरुवा निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै पुस ३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए। विज्ञप्तिमार्फत उनले गिरीलाई जिराभवानी गाउँपालिकामा पठाउने सरकारको निर्णय रद्द गर्न तथा आफ्नो सहमति लिएर मात्र अर्को अधिकृत पठाउन आग्रह गरेका थिए। अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मन्त्रालयले नै लिनुपर्ने चेतावनीसमेत दिएका थिए।

यसअघि गत मंसिर १५ गते अध्यक्ष चौधरीको अनुपस्थितिमा बसेको गाउँकार्यपालिका (बोर्ड) बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिहरूको निर्देशन पालना नगरेको, लामो समयसम्म कार्यालय नआएका कारण सेवा प्रवाह प्रभावित भएको निष्कर्ष निकालेको थियो। सो बैठकले कुशवाहाको सरुवा गरी अमित गिरीलाई जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयकै आधारमा मन्त्रालयले सरुवा गरेको हो।

उल्लेखनीय छ, गिरी यसअघि पनि करिब डेढ वर्षअघि जिराभवानी गाउँपालिकामै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। सो कार्यकालका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले अनुचित आर्थिक लाभसँग सम्बन्धित काम गराउन खोज्दा गिरीले अस्वीकार गरेकाले अध्यक्षसँग असमझदारी उत्पन्न भएको र सोही कारण हालसम्म पनि अध्यक्ष गिरीप्रति असन्तुष्ट रहेको स्रोतले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close