बाराका छतवा–मुसहरवा नाकामा तस्करी मौलाएको आरोप : ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको दबाब ? प्रहरीकै संरक्षणमा राज्यलाई लाखौंको घाटा !

बाराका छतवा–मुसहरवा नाकामा तस्करी मौलाएको आरोप : ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको दबाब ? प्रहरीकै संरक्षणमा राज्यलाई लाखौंको घाटा !

बारा । देशभर अवैध चोरी–तस्करी, घुसपैठ र सीमाक्षेत्रको अपराध नियन्त्रणका लागि विभिन्न समयमा आन्दोलन र अभियानहरू सञ्चालन हुँदै आएका छन्। तर बाराको सीमावर्ती क्षेत्र छतवा–मुसहरवा नाकामा भने तस्करी नियन्त्रण गर्नुपर्ने निकाय नै तस्करहरूसँग मिलेमतोमा रहेको गम्भीर आरोप सार्वजनिक भएको छ।

स्थानीयवासीका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनी मातहत पर्ने छतवा, मुसहरवा, बलिमापुर र बरैनिया नाकाबाट दैनिक रूपमा लाखौं रुपैयाँ बराबरका कपडा, हार्डवेयर, किराना, सुर्तीजन्य सामग्री, कुखुरा, जुत्ता–चप्पल, मोटरसाइकलका पार्टपुर्जा, काजु, किसमिस, चकलेटलगायतका सामानहरू अवैध रूपमा नेपाल भित्रिने गरेका छन्। तर नियन्त्रणको जिम्मेवारी बोकेको प्रहरी प्रशासन भने रहस्यमय रूपमा मौन देखिएको आरोप छ।

स्थानीय स्रोतहरूले प्रहरी निरीक्षक (इन्स्पेक्टर) टुपेन्द्र श्रेष्ठमाथि घुमुवा परिचालन गरी तस्करहरूसँग प्रत्यक्ष ‘सेटिङ’ मिलाउने, आर्थिक असुली गर्ने तथा प्रहरी संगठनभित्र आफ्नो प्रभाव प्रयोग गरेर तस्करीलाई संरक्षण दिने काम भइरहेको गम्भीर आरोप लगाएका छन्। स्रोतका अनुसार उनले “मेरो आफ्नै ब्याची एसपी हो” भन्दै मातहतका प्रहरी कर्मचारीमाथि दबाब सिर्जना गर्ने र सीमाक्षेत्रमा हुने गतिविधिमाथि प्रश्न उठाउनेहरूलाई समेत प्रभावमा पार्ने प्रयास गर्ने गरेको दाबी गरिएको छ।

स्थानीयहरू भन्छन्, “देशमा चोरी, तस्करी र घुसपैठ नियन्त्रण गर्न आन्दोलन गरियो, सीमाको सुरक्षा कडा बनाउने कुरा गरियो। तर यहाँ त सीमा जोगाउने प्रहरी नै तस्करहरूको सहयोगी बनेको जस्तो अवस्था देखिएको छ।”

प्रहरी प्रधान कार्यालय र गृह प्रशासनले सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि पटक–पटक निर्देशन जारी गरे पनि बाराका केही नाकामा त्यसको प्रभाव शून्यजस्तै रहेको स्थानीयको गुनासो छ। विशेष गरी भारतीय बजार रक्सौलबाट रातको समयमा मोटरसाइकल र साना सवारीमार्फत सामान भित्र्याउने क्रम तीव्र रहेको दाबी गरिएको छ।

स्थानीय व्यापारीहरूका अनुसार अवैध रूपमा भित्रिने सामानका कारण राज्यले करोडौं रुपैयाँ राजस्व गुमाइरहेको छ भने कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्ने व्यापारीहरू प्रतिस्पर्धामा टिक्नै नसक्ने अवस्थामा पुगेका छन्। “राज्यलाई कर तिर्ने व्यापारी मारमा परेका छन्, तर तस्करहरू रातारात मालामाल बनिरहेका छन्,” एक व्यापारीले गुनासो गरे।

छतवा चौकी र मुसहरवा क्षेत्रका केही सुरक्षाकर्मीको भूमिकामाथि पनि स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। सीमाक्षेत्रमा हुने अवैध कारोबार रोक्नुपर्ने सुरक्षाकर्मी नै ‘लाइन मिलाउने’ र तस्करी सहज बनाउने काममा संलग्न रहेको आरोप स्थानीयको छ। यदि यी आरोप सत्य हुन् भने यो केवल तस्करीको विषय मात्र नभई राज्य संयन्त्रमाथिकै गम्भीर चुनौती र विश्वासमाथिको प्रहार हुने जानकारहरू बताउँछन्।

यद्यपि यस सम्बन्धमा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय प्रसौनी तथा जिल्ला प्रहरी कार्यालय बाराको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। आरोपित पक्षको धारणा आएपछि समाचार अद्यावधिक गरिनेछ।

सीमाक्षेत्रमा मौलाउँदै गएको तस्करी, बढ्दो राजस्व चुहावट र सुरक्षाकर्मीमाथि उठेका मिलेमतोका आरोपबारे गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। उनीहरूका अनुसार सीमामा तस्कर र संरक्षकको सञ्जाल नतोडिएसम्म राज्यको राजस्व संरक्षण र कानुनी शासनको प्रत्याभूति सम्भव हुने छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close