कार्यालयमै कर्मचारीमाथि कुटपिटको आरोप : कालिकामाई–३ का वडाध्यक्ष संजय पटेल पक्राउ

कार्यालयमै कर्मचारीमाथि कुटपिटको आरोप : कालिकामाई–३ का वडाध्यक्ष संजय पटेल पक्राउ

पर्सा, साउन ५ — पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले वडाध्यक्ष पटेललाई सोमबार उनकै निवास क्षेत्र हरिहरपुर विर्ताबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका कर्मचारीमाथि कार्यालयभित्रै भएको कुटपिट घटनाका सम्बन्धमा अभद्र व्यवहार मुद्दाअन्तर्गत अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो। कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए।

कर्मचारीहरूको निरन्तर दबाब र घटनाको अनुसन्धानपछि प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका पटेललाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close