
वीरगन्ज । वीरगन्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति प्रकाश साह अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
मनिष गुप्तासहितका व्यक्तिले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले साहलाई पक्राउ गरेको हो। पक्राउ परेका साहलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
जाहेरीकर्ता गुप्ताका अनुसार साहले आफू वीरगन्जको स्थानीय बासिन्दा भएको दाबी गर्दै वीरगन्ज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने भन्दै गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।
प्रहरीले घटनासँग सम्बन्धित तथ्य, जाहेरीमा उल्लेख गरिएका आरोप तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरी अनुसन्धानबाट घटनाको वास्तविकता थप स्पष्ट हुने बताइएको छ। पक्राउ परेका साहमाथि लागेको आरोप पुष्टि वा खण्डन भने अनुसन्धान तथा कानुनी प्रक्रियाबाटै हुने प्रहरीले जनाएको छ।




