वीरगञ्जमा खसीको मासुको मूल्य एक्कासि वृद्धि, प्रतिकिलो १ हजारबाट १ हजार २ सय पुग्दा उपभोक्ता हित संरक्षण मञ्चको ध्यानाकर्षण

वीरगञ्जमा खसीको मासुको मूल्य एक्कासि वृद्धि, प्रतिकिलो १ हजारबाट १ हजार २ सय पुग्दा उपभोक्ता हित संरक्षण मञ्चको ध्यानाकर्षण

वीरगञ्ज सहर तथा ड्राइपोर्ट (चण्डाल चौक) क्षेत्रमा खसीको मासुको मूल्यमा एक्कासि वृद्धि भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार यसअघि वीरगञ्जका विभिन्न क्षेत्रमा खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँका दरले बिक्री हुँदै आएकोमा पछिल्लो समय कुनै स्पष्ट जानकारी तथा मूल्य समायोजनको आधार सार्वजनिक नगरी प्रतिकिलो १ हजार २ सय रुपैयाँका दरले बिक्री भइरहेको पाइएको छ।

मासुको मूल्यमा एकैपटक प्रतिकिलो २ सय रुपैयाँ वृद्धि भएपछि उपभोक्तामाथि थप आर्थिक भार परेको मञ्चको भनाइ छ। विशेषगरी वीरगञ्ज बजार तथा ड्राइपोर्ट (चण्डाल चौक) क्षेत्रमा मूल्यमा एकरूपता नरहेको तथा मूल्य वृद्धि गर्नुको कारणबारे उपभोक्तालाई स्पष्ट जानकारी नदिइएको विषयमा मञ्चले चासो व्यक्त गरेको छ।

मञ्चले जिल्ला प्रशासन कार्यालय, पर्साको जानकारीबिना वा सम्बन्धित निकायसँग समन्वय नगरी मूल्य वृद्धि गरिएको भए त्यस विषयमा आवश्यक छानबिन गर्नुपर्ने जनाएको छ। बजारमा मासुको मूल्य निर्धारण, बिक्री–वितरण तथा उपभोक्ताबाट लिइने मूल्य सम्बन्धमा सम्बन्धित व्यवसायीले प्रचलित कानुन तथा बजार अनुगमनसम्बन्धी व्यवस्थाको पालना गर्नुपर्ने मञ्चको भनाइ छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले जिल्ला प्रशासन कार्यालय पर्सा, स्थानीय तह तथा सम्बन्धित बजार अनुगमन निकायलाई तत्काल बजार अनुगमन गरी खसीको मासुको मूल्य वृद्धि हुनुको कारणबारे स्पष्ट पार्न आग्रह गरेको छ।

मञ्चले मूल्य वृद्धि जायज भए त्यसको आधार सार्वजनिक गर्न तथा अनुचित रूपमा मूल्य बढाइएको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यसैगरी, उपभोक्तालाई मासुको मूल्य, तौल तथा गुणस्तरबारे स्पष्ट जानकारी उपलब्ध गराउनुपर्नेमा जोड दिँदै मञ्चले बजारमा मूल्यसूची अनिवार्य रूपमा राख्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल नगर्ने र उपभोक्ताको अधिकार सुनिश्चित गर्ने वातावरण बनाउन सम्बन्धित व्यवसायी तथा निकायको ध्यानाकर्षण गराएको छ।

खसीको मासुको मूल्यमा भएको पछिल्लो वृद्धिबारे जिल्ला प्रशासन कार्यालय पर्सा र सम्बन्धित बजार अनुगमन निकायबाट तत्काल अनुगमन तथा आवश्यक छानबिन हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close