
नेपालको उच्चशिक्षा प्रणालीलाई समयसापेक्ष, गुणस्तरीय, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले वागमती विश्वविद्यालयको आयोजनामा ‘नेपालको उच्चशिक्षा प्रणाली सुदृढीकरण : प्रादेशिक विश्वविद्यालय व्यवस्थापन तथा समन्वय कार्यशाला’ हेटौँडामा सम्पन्न भएको छ।
मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय यादवका अनुसार कार्यशालामा नेपाल सरकारका शिक्षामन्त्री, वागमती प्रदेशका मुख्यमन्त्री, सातवटै प्रदेशका शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विभिन्न प्रादेशिक विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र अन्य उच्च पदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यशालामा नेपालको उच्चशिक्षा प्रणालीलाई समयानुकूल, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत व्यवस्था, प्रादेशिक विश्वविद्यालयहरूको व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि तथा संघ, प्रदेश र विश्वविद्यालयबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
नेपालमा उच्चशिक्षाको पहुँच विस्तार हुँदै गए पनि शैक्षिक गुणस्तर सुधार, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन र विश्वविद्यालयहरूको प्रभावकारी सञ्चालन अझै महत्त्वपूर्ण चुनौतीका रूपमा रहेका छन्। यी चुनौतीको समाधानका लागि साझा नीति, स्पष्ट कार्यदिशा र संस्थागत सहकार्य आवश्यक रहेको विषयमा कार्यशालाले विशेष जोड दिएको छ।
त्यसैगरी, संघीय संरचनाअनुसार स्थापना भएका प्रादेशिक विश्वविद्यालयहरूको प्रभावकारी सञ्चालन, उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन, शैक्षिक कार्यक्रमको गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालयहरूबीच आपसी सहकार्य विस्तारका विषयमा समेत छलफल भएको थियो।
सातवटै प्रदेशका शिक्षामन्त्री तथा विभिन्न विश्वविद्यालयका नेतृत्व र पदाधिकारीहरूको सहभागिताले उच्चशिक्षा क्षेत्रका साझा समस्या पहिचान गर्न, अनुभव आदानप्रदान गर्न र आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत तथा व्यवस्थापकीय उपाय तय गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उच्चशिक्षा क्षेत्रका सरोकारवालाहरूबीच साझा धारणा निर्माण गर्दै प्रादेशिक विश्वविद्यालयहरूको संस्थागत विकासलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले जानकारी दिनुभयो।
कार्यशालाबाट प्राप्त सुझाव, अनुभव र निष्कर्षले नेपालको समग्र उच्चशिक्षा प्रणालीको सुधार तथा प्रादेशिक विश्वविद्यालयहरूको व्यवस्थापन, सञ्चालन र समन्वयलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।




