वर्दीभित्रको सिर्जनशील मनः एसएसपी कमल थापाको शब्दमा ‘पिरतीको मिठो धुन’ सार्वजनिक

वर्दीभित्रको सिर्जनशील मनः एसएसपी कमल थापाको शब्दमा ‘पिरतीको मिठो धुन’ सार्वजनिक

काठमाडौं । प्रहरी सेवाको कठोर अनुशासन, जिम्मेवारी र व्यस्तताबीच पनि साहित्य तथा संगीतप्रतिको मोहलाई जीवन्त राख्दै आएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापा अब सर्जकका रूपमा पनि चिनिन थालेका छन्। उनकै शब्द रचनामा तयार भएको नयाँ गीत ‘पिरतीको मिठो धुन’ सार्वजनिक भएको छ।

चर्चित गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको हो। भिडियोमा प्रदीप लामा र जुना सुन्दासले अभिनय गरेका छन्। प्रेमभावले भरिएको गीतमा दुई चर्चित गायक–गायिकाको स्वरले थप मिठास भरेको छ।

प्रहरी सेवाको लामो अनुभव बोकेका थापा जिम्मेवारीका हिसाबले जति अनुशासित र व्यस्त छन्, सिर्जनाका हिसाबले त्यति नै संवेदनशील देखिन्छन्। वर्दीभित्र रहेर पनि साहित्य र संगीतलाई निरन्तरता दिँदै आएका उनका रचनामा प्रेम, प्रकृति, जीवनका आरोह–अवरोह, जन्मभूमिप्रतिको माया र सामाजिक परिवेशका अनुभूतिहरू समेटिने गरेका छन्।

विशेषगरी द्वन्द्वकालमा सुदूरपश्चिम र मध्यपश्चिमका दुर्गम क्षेत्रमा लामो समय प्रहरी सेवामा खटिएका थापाले त्यहाँ देखेका जीवनका विविध पाटा, भोगेका अनुभव र मानिसका कथालाई आफ्ना सिर्जनाको आधार बनाउँदै आएका छन्। गाउँबेसीदेखि सहरसम्मका यात्रा, सेवाका क्रममा भेटिएका मानिस र जीवनका अनेक उतारचढाव उनका गीतका शब्दमा प्रतिविम्बित हुने गरेका छन्।

‘हिउँचुलीमा हिउँ छैन’ र ‘सल्लेरी’ जस्ता गीतमार्फत उनले आफ्नो समय, उमेर र तत्कालीन परिवेशका अनुभूतिलाई शब्दमा उतारेका छन्। लामो समयसम्म कागजका पानामा सीमित रहेका आफ्ना भावना र अनुभवलाई पछिल्लो समय श्रव्य तथा दृश्य माध्यममार्फत श्रोतामाझ पुर्‍याउन थालेको उनी बताउँछन्।

थापाका सिर्जनामा प्रेम र मनोरञ्जन मात्रै होइन, जन्मभूमिको सम्झना, प्रकृतिप्रतिको आकर्षण र माटोसँगको आत्मीय सम्बन्धसमेत पाइन्छ। यसको उदाहरण हो, ‘पहाडकी रानी’ गीत। आफ्नो जन्मभूमि इलामप्रतिको श्रद्धा र भावनात्मक सम्बन्धलाई समेटिएको उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ। गीतको पुरुष संस्करणमा नेपाल आइडल विजेता करण परियार र महिला संस्करणमा अनु चौधरीले स्वर दिएका छन्।

त्यस्तै, ‘पछ्यौरी’ गीतमार्फत उनले समयको गतिसँगै मानिसको जीवनमा आउने परिवर्तन र समयले थाहै नपाई पुर्‍याउने जीवनको अर्को मोडलाई ठट्यौलो शैलीमा प्रस्तुत गरेका छन्। समीर खरेलको संगीत तथा स्वर रहेको उक्त गीतले जीवनका अनुभूतिलाई फरक स्वादमा अभिव्यक्त गरेको छ।

थापाका ‘भकारीमा धान भरियो’, ‘हावा जस्तै उडौँला’ र ‘म पनि त’ लगायतका गीत अडियो माध्यमबाट सार्वजनिक भइसकेका छन्। त्यसैगरी, चर्चित गायक राजेशपायल राईको स्वरमा रहेको ‘मेरो टेन्सन’ लगायत केही चलचित्रका गीतसमेत उनका सिर्जनाका रूपमा श्रोतामाझ आइसकेका छन्।

पछिल्लो सिर्जना ‘पिरतीको मिठो धुन’ ले भने प्रेम र आत्मीयताको भावलाई संगीतमार्फत प्रस्तुत गरेको छ। अन्जु पन्त र ताराप्रकाश लिम्बुको सुमधुर स्वरले सजिएको गीतले श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

आफ्ना सिर्जनाका स्रोतबारे थापा भन्छन्, ‘भेटिएका हरेक मानिससँग केही न केही कथा हुन्छन्। घुमेका हरेक ठाउँमा विशिष्ट शब्द र अनुभूति भेटिन्छन्। कहिलेकाहीँ ड्युटीका बीचमा देखिएको कुनै दृश्य नै गीतको प्रेरणा बन्छ भने कहिलेकाहीँ पुरानो स्मृतिले नयाँ शब्द जन्माउँछ।’

आफ्ना रचनाहरू सार्वजनिक गर्न हतार नगर्ने उनी सेवाका क्रममा पुगेका स्थान, त्यहाँको समाज र मानिसहरूप्रति सम्मान व्यक्त गर्न तथा जीवनका अविस्मरणीय क्षणलाई सिर्जनामार्फत सुरक्षित राख्न रुचाउँछन्। उनका लागि गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई जीवनका अनुभव, स्मृति र अनुभूतिलाई अभिव्यक्त गर्ने एउटा माध्यम पनि हो।

आगामी दिनमा पनि आफ्ना सिर्जनाहरू क्रमशः सार्वजनिक गर्दै जाने थापाको योजना छ। प्रहरी सेवाको अनुशासन र जिम्मेवारी निर्वाहसँगै साहित्य तथा संगीतमा समेत सक्रिय उनको यात्रा एउटा सन्देश बनेको छ। वर्दीले जिम्मेवारीको पहिचान दिन्छ, तर सिर्जनशील मनलाई कुनै सीमाभित्र बाँध्न सक्दैन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close