आलीकाे विवादमा झगडा हुँदा एक गम्भिर घाइते, पीडितलाई प्रहरीले १ लाख रुपैयामा सहमति गर्न दियो दबाब( भिडियो सहित)

वीरगन्ज (पर्सा), २१ असार । पर्सा जिल्ला जगरनापुर गाउँपालिका वडा नं. १ विसुनपूर्वा निवासी महमजान मियाँले आफ्नो छोरालाई कुटपिट गरेको विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मियाँले ३६ वर्षीय छोरा अब्दुल मलख मियाँलाई छिमेकी ४६ वर्षीय शेख कारी र निजका २५ वर्षीय छोरा सदरे आलमले कुटपिट गरि मृत्युको मुखमा पु¥याएतापनि प्रहरीले निजहरुमाथि कारवाही नगरेको आरोप लगाए । उनले असार ५ गते खेतको आलीको विषयमा भएको विवादको निहुँमा छोरालाई एक्लै रहेको मौका छोपी आफ्नै घर अगाडि आरोपीद्वयले गम्भिर कुटपिट गरेको बताए ।

कुटपिटले गर्दा छोराको टाउको, पेट लगायतका अंगहरुमा चोटपटक लागेको छ । कुटपिटबाट छोराको टाउको फुट्नुका साथै पेटमा लठ्ठीले हानेको कारण किड्नीमा समेत असर परेको बताए । आलीको विषयलाई लिएर उत्पन्न विवाद पश्चात साँझ भएको झैझगडामा परि छोरालाई गरिएको कुटपिटको कारण टाउकोमा गम्भिर चोट लागेको छ भने किड्नीमा चोट पटक लागेको कारण पिशाबबाट रगत बगि रहेको कारण पीडितको अवस्था गम्भिर रहेको बताए ।

कुटपिटबाट घाइते भएका छोरालाई तत्काल गाउँपालिका स्थित प्राथमिक उपचार केन्द्रमा उपचार गराई वीरगन्ज स्थित एन.एल. न्यूरो अस्पतालमा उपचारको लागि ल्याएकोमा त्यहाँबाट उपचार हुन नसक्दा नेशनल मेडिकल कलेजमा रेफर गरिएको र मेडिकल कलेजमा डाइलोसिस गर्नुका साथै अवस्था सामान्य नभएपछि भारतको लखनउ स्थित अस्पतालमा उपचार भइरहेको मियाँले बताए ।

उनका अनुसार हालसम्म ४ लाख रुपैया खर्च भइसकेको तर पीडक पक्षले कुनै किसिमको क्षतिपूर्ति नदिएको र न्यायको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिदा जाहेरी समेत दर्ता नगरिएको आरोप लगाए । कुटपिटमा परेका छोराको अवस्था अहिलेपनि गम्भिर रहेको छ, हालसम्म तीन पटक डाइलोसिस गरि सकिएको छ तर अवस्थामा सुधार आएको छैन भन्दै मियाँले पीडकलाई पक्राउ गरिएपनि कुनै किसिमको सहमति विना नै प्रहरीले पीडकलाई छाडेको बताए ।


यस घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिदा दर्ता नगरी सहमति गर्ने पक्षमा रहेको पीडित पक्षको भनाई छ । घटना पश्चात जिल्ला प्रहरी कार्यालयमा पुगेका पीडित महमजान मियाँले क्राइमका सईले आफूलाई १ लाख रुपैया लिएर सहमति गर्नुपर्ने भन्दै दबाब दिएको बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोज कुँवरले सामान्य घटनामा स्थानीयहरु मिल्न चाहन्छन् भने प्रहरी बाधक नबन्ने भएकोले तिनीहरुलाई मिलापत्र गराउन खोजेको बताए । पक्राउ परेका दुबैलाई तत्कालको लागि छाडिएको भएपनि घटनाको छिनोफानो नभएको भन्दै डि.एस.पी. कुँवरले पीडितको उपचार भइरहेकोले आगामी अवस्थालाई हेरेर कारवाही प्रक्रिया अगाडि बढाइने बताए । उनले घटनामा पीडितको पक्षबाट मुद्दा दर्ता भइसकेको भनेतापनि पीडित पक्षले भने मुद्दा दर्ता नभएको आरोप लगाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close