
बीरगन्ज, १२ असोज-कोरोना संक्रमित सुत्केरीलाई आज बल्ल अस्पताल लगिएको छ । कोरोना संक्रमित भएकै कारण अस्पतालले भर्ना नर्ग नमानेको समाचार प्रकाशमा आएपछि ती सुत्केरीलाई आज दुई दिनपछि बल्ल नारायणी अस्पताल लगिएको हो । गत शनिबार रातिदेखि आइतबार बिहानसम्म अक्सिजन दिइएको भएपनि हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रसूति रोग विशेषज्ञ डाक्टर दिप्ती यादव बताइन् ।
समाचार प्रकाशमा आएपछि बीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले बिहान गाडी पठाएर सुत्केरीलाई अस्पताल ल्याउन लगाएका हुन् ।
तर संक्रमित महिलाको छेउमा घाउमा इन्फेक्सन भएका बिरामी राखिएकोले रगत बगिरहेको हुँदा डर लागिरहेको उनका श्रीमान् इनरदीप पण्डितले बताए । तर यसबारे अस्पतालमा जानकारी गराइसकिएको र समस्या समाधान गर्ने आश्वासनसमेत पाएको शर्माको भनाइ छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जय ठाकुर कोभिड र नन कोभिड विरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा संक्रमण फैलने जोखिम हुने बताउँछन् । कोभिड अस्पतालले कोभिडका बिरामी नराख्ने हो भने कोभिड अस्पताललाई सुविधा सम्पन्न बनाउने ? त्यसबारे निर्णय हुनुपर्छ,’ उनले भने ।
बीरगञ्जमा हाल सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा आइसोलेसन)ले मिर्गौला रोगी, गर्भवती र सुत्केरीलाई सेवा दिन नसक्ने जनाइसकेको छ । डायलायसिस र शल्यक्रियाका लागि व्यवस्था नभएकाले सेवा दिन नसक्ने अस्पताल प्रशासनको तर्क छ । बाँकी दुई अस्पतालको म्याद सकिएको भएपनि नवीकरण गर्न मानिरहेका छैनन् । नारायणीमा दुवै कोभिड र ननकोभिड बिरामीलाई राख्दा संक्रमणको जोखिम हुने र जनशक्ति र ठाउँको पनि अभाव रहेको मेसु ठाकुरले बताए ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले यो समस्या समाधानका लागि जिल्ल संकट व्यवस्थापक केन्द्रको बैठक बोलाइएएको बताए ।Nepal post daily




