
- चितवनको मंगलपुरमा माछा चोरीको विषयमा झडप हुँदा प्रहरीसहित पाँच जना घाइते
चितवन , भरतपुर । जेष्ठ ०६ गते मंगलवार ।
चितवन , भरतपुर -१६ मंगलपुरमा रहेको माछापोखरीमा रहेको माछा चोरी गर्न आएका दुईजनासँग झडप हुँदा माछापोखरी धनी दुईजना र एक प्रहरी जवानसमेत घाइते भएका हुन् । घाइतेमध्ये प्रहरी जवानको अवस्था गम्भीर छ ।
हिजो सोमाबर राति करिब १०:३० बजे माछापोखरीमा पानी लाउन गएका दाजुभाइ दीपेश र दीपेन्द्र बजगाईंले पोखरीबाट माछा चोरी गरिरहेका अर्का दाजुभाइ सन्तोष र गणेश थापालाई लखेटेका थिए । चोरी गरेको थाहा पाउनासाथ रामपुर प्रहरी चौकीमा फोन गरेका उनीहरुले चोरी गर्ने थापा दाजुभाइलाई घेरा हालेर नियन्त्रणमा लिने प्रयास गरे ।
तर, उनीहरुले भाग्न कोशिस गर्ने क्रममा दोहोरो झडप भयो । रामपुर प्रहरीचौकीबाट प्रहरी नायब निरीक्षक (असई) राम आदर यादव र जवान विजय सुनार पुग्दा उनीहरु घम्साघम्सी गर्दै थिए । प्रहरी पनि पुगेको देखेपछि चोरी कार्यमा संलग्न सन्तोषले खुकुरी निकालेर बजगाईं दाजुभाइलाई प्रहार गर्न खोजे । खुकुरी छेकेर थापालाई नियन्त्रणमा लिने प्रयास गरेका प्रहरी जवान सुनारलाई टाउकोमा खुकुरी लागेको चितवन प्रहरीले जनाएको छ ।
बाँकेको कोहलपुर–१ स्थायी घर भई हाल दंगा नियन्त्रण प्रहरी गण हेटौंडामा कार्यरत रहेका जवान सुनारलाई टाउकोमा गम्भीर चोट लागेको छ । हाल उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । झडपका क्रममा बाँकी चारै जना घाइते भएका छन् । उनीहरुको पनि टाउकोमा चोट लागेको छ । उनीहरु सबैको चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।




