
सर्लाही, बलरा — तस्करी रोक्न गएका सशस्त्र प्रहरीमाथि स्थानीय समूहले ढुंगा प्रहार र पेट्रोल बम आक्रमण गरेका छन्। मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल, छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा गएको टोलीमाथि सोमबार राति सर्लाहीको बलरा नगरपालिका–५ स्थित एक गोदाममा छापा मार्ने क्रममा आक्रमण भएको हो।
डीआईजी ढकालले चीनबाट ल्याइएका स्याउ सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ५ स्थित वडाध्यक्ष मनोज मोहनकुमार सिंहको फर्निचर उद्योगमा भण्डारण गरी भारत तर्फ तस्करी गर्न लागेको सूचना पाएपछि भन्सार अधिकृत र नेपाल प्रहरीसहितको संयुक्त टोली पठाएका थिए। सशस्त्र प्रहरीको १०० जनाको टोलीसहित भन्सार कार्यालय मलंगवाका भन्सार अधिकृत डम्बर बस्नेत र नेपाल प्रहरी चौकी गडैयाका २० जना गरी करिब १२० जनाको टोली घटनास्थलमा पुगेको थियो।
तर, टोली गोदाममा पुग्नासाथ एक सयभन्दा बढी स्थानीयले ढुंगामुढा र पेट्रोल बम प्रयोग गरी प्रहरीमाथि आक्रमण गरे। आक्रमणबाट जोगिन सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरी भिड तितरबितर पारेको भए पनि स्याउ लोड गरिएका ६ वटा गाडी तस्करहरुले भारतीय सीमातर्फ भगाउन सफल भए। यद्यपि, सशस्त्र प्रहरीले एक गाडी नियन्त्रणमा लिन सफल भयो, जसमा झन्डै ५ लाख रुपैयाँ बराबरको स्याउ बरामद गरिएको छ।
डीआईजी ढकालका अनुसार उक्त तस्करीमा सशस्त्र प्रहरीकै केही अधिकृत र कर्मचारीको संलग्नता आशंका गरिएको छ। मधुबनी बीओपीका इन्चार्ज इन्स्पेक्टर लोकेन्द्रबहादुर चन्द, सशस्त्र मुख्यालयबाट खटिएका घुमुवा सहायक हवल्दार रोशन मिश्र लगायतको सेटिङमा व्यापारी नवीन चौधरी, राजेश ठाकुर, विजय यादव र वडा अध्यक्ष मनोज मोहनकुमार सिंहले तस्करी सञ्चालन गर्दै आएको आरोप लगाइएको छ।
ढकालले यस विषयमा अनुशन्धान सुरु भइसकेको जानकारी दिएका छन्। सशस्त्र प्रहरी बल मुख्यालयको अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीका अनुसार सहायक हवल्दार मिश्र, राजीव यादव र सन्तोष यादवलाई सर्लाही र बारामा घुमुवा रूपमा खटाइएको थियो। तर, उनीहरुले त्यहाँ बसेर बीओपी इन्चार्जसँग मिलेर तस्करीको लाइन चलाउने गरेको आरोप लागिरहेको छ।
ढकालका अनुसार, उक्त अपरेशनबाट करिब १५ लाख रुपैयाँ मूल्यको सवारी साधन र ४.५ लाख मूल्य बराबरको स्याउ भन्सारमा बुझाइएको छ। “६ वटा गाडी तस्करले भारत लैजान सफल भए पनि यो अपरेशनले तस्कर समूहको संरचनामा ठूलो धक्का दिएको छ,” डीआईजी ढकालले भने, “अब तस्करी सहज रूपमा सम्भव छैन भन्ने सन्देश यो कारबाहीले दिएको छ।”




