
भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासको सहयोगमा मधेश प्रदेशको धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ।
बटेश्वर गाउँपालिका–३ मा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास भारतीय महावाणिज्यदूत देवी सहाय मीणा र गाउँपालिकाका अध्यक्ष राम आशीष महतोले संयुक्त रूपमा गर्नुभएको हो।
उक्त विद्यालय भवन भारत सरकारको करिब ३ करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिनेछ। निर्माण हुन लागेको भवन चार तले हुनेछ, जसमा कक्षा कोठासहित आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था गरिने जनाइएको छ।
यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन हुने बताइएको छ, जसलाई स्थानीय तहमार्फत कार्यान्वयन गरिनेछ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए।
नेपाल र भारतबीचको विकास साझेदारीलाई अझ सुदृढ बनाउँदै यस्ता परियोजनाहरूले स्थानीय स्तरमा शिक्षा तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।




