
पर्सा जिल्लाका १५ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले पर्सागढी नगरपालिकामा घरदैलो तथा क्रस–चेक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। अनुगमनका क्रममा खोप सेवाको वास्तविक अवस्था, अभिलेख व्यवस्थापन तथा समुदायस्तरमा खोपप्रतिको सचेतनाको मूल्यांकन गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम बालबालिकालाई विभिन्न सरुवा तथा ज्यान जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने महत्वपूर्ण अभियानका रूपमा रहेको छ। सोही अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयको टोली पर्सागढीका विभिन्न टोल, बस्ती र खोप केन्द्रमा पुगेर स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा अधिकांश बालबालिकाले निर्धारित समयमै आवश्यक खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार खोप कार्यक्रम समग्रमा सन्तोषजनक र प्रभावकारी देखिएको छ भने अभिभावकहरूमा बालबालिकाको स्वास्थ्यप्रति सकारात्मक चासो र जागरूकता पनि देखिएको छ। केही स्थानमा देखिएका सामान्य व्यवस्थापकीय कमजोरी सुधारका लागि आवश्यक सुझाव र निर्देशनसमेत दिइएको उनले बताए।
टोलीले पर्सागढी नगरपालिकाअन्तर्गत रहेका विभिन्न खोप केन्द्रहरूको निरीक्षण गर्नुका साथै घरदैलोमै पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरेको थियो। यस क्रममा खोपको महत्व, छुटेका बालबालिकाको पहिचान, समयमै खोप केन्द्रमा उपस्थित गराउने व्यवस्था तथा नियमित खोपको निरन्तरताबारे जानकारी प्रदान गरिएको थियो।
स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत शबनम कार्कीका अनुसार अनुगमनका क्रममा अधिकांश बालबालिकाले खोप लगाइसकेको पुष्टि भए पनि केही परिवारले खोप कार्ड हराएको वा सुरक्षित रूपमा संरक्षण गर्न नसकेको अवस्था भेटिएको छ। उनले खोप कार्ड बालबालिकाको स्वास्थ्य अभिलेखको महत्वपूर्ण दस्तावेज भएकाले त्यसलाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरिन्। साथै, कार्ड हराएमा सम्बन्धित स्वास्थ्य संस्थासँग सम्पर्क गरी अभिलेख अद्यावधिक गर्नुपर्ने विषयमा समेत सचेतना फैलाइएको उनले बताइन्।
उनले घरदैलो अनुगमनले छुटेका बालबालिकाको पहिचान गर्न, खोप सेवाको गुणस्तर मूल्यांकन गर्न तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिइन्।
अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य राहुल गुप्ता, स्वास्थ्य कार्यालयका शर्मिला न्यौपाने लगायतको सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालय पर्साका अनुसार खोपबाट बच्न सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न प्रत्येक बालबालिकाले निर्धारित उमेरभित्र सबै आवश्यक खोप पूरा गर्नु अत्यावश्यक छ। यसका लागि स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई थप सुदृढ बनाइने जनाइएको छ। साथै, नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन यस्ता घरदैलो अनुगमन तथा सचेतनामूलक अभियानलाई निरन्तर अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ।




