नारायणी अस्पतालमा क्याथ ल्याब सेवा औपचारिक रूपमा सुरु, पहिलो दिन दुई बिरामीमा सफल प्रक्रिया

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा औपचारिक रूपमा सुरु, पहिलो दिन दुई बिरामीमा सफल प्रक्रिया

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि प्रतीक्षित क्याथ ल्याब सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालमा क्याथ ल्याब सेवा सुरु भएसँगै मधेश प्रदेशमै मुटुसम्बन्धी विशिष्टीकृत जाँच तथा उपचार सेवा विस्तार भएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरिएको सुपर स्पेसियलिटी भवनमा खरिद तथा जडान गरिएको क्याथ ल्याबबाट बुधबारदेखि सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। सेवा सञ्चालनको पहिलो दिन नै दुई जना बिरामीमा सफलतापूर्वक प्रक्रिया सम्पन्न गरिएको अस्पतालको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पहिलो दिन वीरगञ्ज महानगरपालिका–१६, नगवाकी ४० वर्षीया मञ्जु देवीमा कोरोनरी एन्जियोग्राफी (CAG) गरिएको थियो। त्यस्तै, वीरगञ्ज, पर्साका ४० वर्षीय जगदिश महतोमा सिनेफ्लोरोस्कोपी (Cinefluoroscopy) गरिएको अस्पतालले जनाएको छ।

क्याथ ल्याबमा भएको प्रक्रियामा अस्पतालका कार्डियोलोजी तथा अन्य विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक टोली सहभागी भएको थियो। उपचारमा डा. बृजेश पाण्डे, एनेस्थेसिया विशेषज्ञ डा. अमित कुमार चौधरी, डा. इमरान खानलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।

क्याथ ल्याब सञ्चालनमा आएपछि मुटुको रक्तनलीमा रहेको अवरोध पहिचान गर्न तथा आवश्यकताअनुसार उपचार प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। यसअघि मुटुसम्बन्धी जाँच तथा उपचारका लागि काठमाडौं वा भारतका विभिन्न अस्पतालमा जानुपर्ने बाध्यता रहेका बिरामीलाई अब वीरगञ्जमै थप विशिष्टीकृत सेवा उपलब्ध हुने भएको छ। यसबाट बिरामीको समय, उपचार खर्च तथा अन्यत्र रेफर हुनुपर्ने अवस्था समेत कम हुने विश्वास गरिएको छ।

नारायणी अस्पतालका विकास समितिका अध्यक्ष धिरज गुप्ताले अस्पतालको सेवा, भौतिक पूर्वाधार तथा स्वास्थ्य उपकरण विस्तारलाई प्राथमिकतामा राख्दै काम भइरहेको बताएका छन्। अस्पताललाई मधेश प्रदेशकै प्रमुख तथा गुणस्तरीय स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यअनुसार अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवा विस्तारलाई निरन्तरता दिइने उनको भनाइ छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन शाहद्वारा जारी प्रेस विज्ञप्तिमा क्याथ ल्याब सेवामार्फत बिरामीलाई सहज, प्रभावकारी र विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गरिएको छ।

क्याथ ल्याब सेवा सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व प्रमुख डा. चुमन लाल दास, निमित्त प्रमुख डा. चित्तरञ्जन शाह, डा. बृजेश पाण्डेलगायत सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीप्रति अस्पतालले आभार व्यक्त गरेको छ।

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु हुनुलाई मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले प्रदेशमै मुटुरोगको अत्याधुनिक जाँच तथा उपचार सेवा विस्तार गर्ने दिशामा नयाँ आधार तयार गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close