पर्सा प्रहरीसंग आमा चन्द्रावतीको प्रश्न : मेरी छोरीका हत्याराहरु कहिले पक्राउ पर्छन् ?

पर्सा प्रहरीसंग आमा चन्द्रावतीको प्रश्न : मेरी छोरीका हत्याराहरु कहिले पक्राउ पर्छन् ?

‘हमर दुलरी बेटीके दुश्मनवासन् मुआ देहलसन्, ओइसन दमाद केहुके ना मिलो’(मेरी प्यारी छोरीलाई पापीहरुले कुटीकुटी मारे, त्यस्तो पापी ज्वाँई कसैलाइपनि नपरोस्), आमा चन्द्रवाती देवीले गहभरी आँशू झार्दै पत्रकार सम्मेलनमा भनिन्,‘ हमर बेटीके हत्यारासन्के अभितक पुलिस भी नइखे पकडत्’ (मेरी छोरीका हत्यारालाई प्रहरीले अझैसम्मपनि पक्राउ गरेको छैन ।)

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाकी चन्द्रावती देवीकी विवाहिता कान्छी छोरी नीशा कुमारी गोढको उनकै पतिसहितकाले कुटपिट मारेको आरोप माइत्ी पक्षले लगाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार जिल्ला प्रहरी कार्यालय पर्सामा माइती पक्षले जोहेरीसमेत दिइसकेको छ । तर प्रहरीले उनिहरुलाई अहिलेसम्मपनि पक्राउ नगरेपपछि माइती पक्षले मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर प्रहरीप्रति आफनो आक्रोश पोखेको छ ।

जमुनियाका हिरा साह गोढकी कान्छी छोरी नीशाको चार बर्षपहिले पर्साकै बहुदरमाइ नगरपालिका वडा नम्बर ३ नगरदाहाका स्वर्गीय सिंघासन साह गोढका छोरा मुन्ना भन्ने इनरजीत साह गोढसंग हिन्दु परम्परा अनुसार मागी विवाह भएको थियो ।

विहेको चार बर्षपनि नबित्दै नीशाको उनका पति मुन्ना र उनका परिवारका सदस्यले मिलेर गत शनिबार निर्घात कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलनमा नीशाकी आमा चन्द्रावती देवीले आरोप लगाइन् । उनले भनिन्,‘ विहे भएको १ बर्ष यतादेखि नै ज्वाँई र उनका परिवारले नीशालाई कुटपिट गर्दै यातना दिदैं आएका थिए । ज्वाँई अर्कै केटीसंग सल्किएको थियो । त्यहिभएर छुटकारा पाउन शनिबार मेरी छोरीलाई उनिहरुले कुटी कुटी मारिदिए।’

आमा चन्द्रावतीका अनुसार, नीशा तीन महिनाको गर्भवती थिइन् ।स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन नीशाले आफना पति मुन्नालाई भन्दा पैसा छैन भन्ने बहाना बनाएर उल्टै यतना दिएको दुखेसो गत शनिबार बिहान ७ बजेतिर फोन गरेर आमा चन्द्रावतीलाई सुनाएकी थिइन् ।

त्यहि दिन बिहान साढे ११ बजेतिर नारायणी अस्पतालबाट एक आफन्तले नीशाका भाई राजकुमारलाई फोन गरेर नीशा अस्पतालमा भर्ना रहेको खरब सुनाए । उक्त खबर पाएलगत्तै नीशााका दाजु राजकपुर अस्पतालमा पुगे। ‘ म अस्पतालमा पुग्दा त बहिनी नीशा मरेको अवस्थामा थिइन् । उनको अनुहार, पाखुर र पेटतिरको भागमा कुटपिट गरिएको कालो डाम थियो ।’ दाई राजकपुरले पत्रकार सम्मेलनमा भने ।

अस्पतालमा बहिनी निशाको पोष्टमार्टमपछि शव उनका पति मुन्नासहितका परिवारले बुझेर लगेर त्यहि दिन हतार हतारमा दाहसंस्कारपनि गरिदिएको दाई राजकपुरले बताए ।घाटमा दाहसंस्कार गर्ने क्रममा पनि नीशाको शवसंग ज्वाँइ मुन्नाले अपमान गरेको नीशाका बुबा हिरा साहले बताए ।

पत्रकार सम्मेलनमा नीशाका दाई राजकपुरले भने,‘ पति मुन्नाले विहे भएको चार बर्षमा नीशासंग कहिल्यैपनि खुशीसाथ राखेनन् । न मिठोमसिनो खान दिन्थे न माईतीमा कसैसंग बोल्न दिन्थे ।कयौं पटक बहिनी नीशाको घरायसी विवाद सुल्झाउन जाँदा हामीसंगपनि झगडा गर्थे ।त्यबेला हामीले केहुनियाको प्रहरी चौकीमा निवेदनपनि दिएका थियौं।’

नीशाको हत्या नै गरिएकोले त्यसमा संलग्न नीशाका पति मुन्ना र उनका हजुरबुबा मान्सी साह गोढविरुद्ध गत शनिबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बुबा हिराले पत्रकार सम्मेलनमा बताए । उनले भने,‘ तर मेरी छोरीलाई कुटीकुटी मार्नेहरुलाई पुलिसले अझै पक्राउ गरेको छैन । उनिहरु घरमै छन् । खुलेयाम घुमिरहेका छन् । यो देख्दा पिडामाथी झन् पिडा थपिएको छ ।’

चार बर्षपहिले नगद आठ लाख र मोटरसाइकल लगायतका सरसामान दाइजोमा दिएर धुमधामकासाथ विहे गरेर पठाएकी छोरीको अहिले अकालमै ज्यान जाँदा मन भत्भती पोलिरहेको दुखेसो उनले सुनाए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने पोष्टमार्टको रिपोर्ट आएपछि त्यसै अनुसार यो घटनाका सम्बन्धमा प्रहरी अगाडि बढ्ने बताए। पत्रकार क्रान्ति साहसंग उनले भने,‘ शवको अवस्था हेर्दा शरिरमा चोटपटक लागेको घाउ वा त्यस्तो केहि देखिएन । पोष्टमार्टको रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्छ । त्यहि भएर प्रहरी पोष्टमार्टमको रिपोर्ट कुरेर बसेको छ । रिपोर्ट आउन अझै हप्ता दश दिनसम्म लाग्न सक्छ । सभार:- मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close