शिक्षा, रोजगारी र पूर्वाधार विकासमा केन्द्रित परवानीपुर गाउँपालिकाको आगामी वर्षको योजना

शिक्षा, रोजगारी र पूर्वाधार विकासमा केन्द्रित परवानीपुर गाउँपालिकाको आगामी वर्षको योजना

परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै आगामी वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता सार्वजनिक गरेको छ।

गाउँसभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल रु. ३६ करोड ६३ लाख १० हजार विनियोजन गरिएको छ। कुल बजेटमध्ये करिब ६० प्रतिशत चालु खर्च तथा ४० प्रतिशत पुँजीगत खर्च तर्फ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, पूर्वाधार, भूमि प्रशासन, सरसफाइ, आर्थिक विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले अधुरा रहेका विद्यालय भवन निर्माण सम्पन्न गर्ने, करदाता सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा वडा नं. १ मा नदी नियन्त्रण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यस्तै, लिपनीमालस्थित गुर्दी बजार क्षेत्रमा सडकको उत्तर–दक्षिण भागमा भवन निर्माण सम्पन्न गर्ने योजना पनि अघि सारिएको छ।

वडा नं. ५ बहुअरीमा मुख्य सडक तथा नाला निर्माण, थप विद्यालय भवन तथा बाल विकास केन्द्र निर्माण, गाउँपालिकाभर नियमित सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने नीति समेत गाउँसभाले स्वीकृत गरेको छ। साथै नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रममार्फत स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि प्रवर्द्धन गर्ने लक्ष्य निर्धारण गरिएको छ।

गाउँसभामा संघीय तथा प्रदेश सरकारसँगको समन्वय, गैरसरकारी संस्थासँग सहकार्य, सार्वजनिक–निजी साझेदारी तथा जनसहभागितामार्फत विकास निर्माणका कार्यलाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको बताए। उनले गाउँपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।

गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुइन, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, समाजसेवी नेता उमेश साह कानु, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनले आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनाहरूलाई तीव्रता दिँदै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने अपेक्षासहित आफ्नो कार्यसूची सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close