निलम्बित मेयर राजेशमानका आफन्तको अवरोधले वीरगञ्ज तीन दिन अन्धकारमा, यस्तो छ ‘विद्युत रहस्य’

निलम्बित मेयर राजेशमानका आफन्तको अवरोधले वीरगञ्ज तीन दिन अन्धकारमा, यस्तो छ ‘विद्युत रहस्य’

वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहका आफन्तको अवरोधका कारण वीरगञ्जको आधा सहर तीन दिनसम्म अन्धकारमा परेको खुलासा भएको छ। गत बुधबार दिउँसो करिब १:३० बजेदेखि महानगरका विभिन्न वडामा विद्युत आपूर्ति अवरुद्ध हुनुको मुख्य कारण निलम्बित मेयर सिंहका साढुभाइको अवरोध रहेको जानकारी सार्वजनिक भएको हो।

पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्त, प्रमुख जिल्ला अधिकारी भोला दाहाल र नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोबीच जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा उक्त तथ्य बाहिर आएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका उच्च स्रोतका अनुसार, लामो समयसम्म विद्युत अवरुद्ध भएपछि सर्वसाधारणको गुनासो बढेपछि सांसद हरि पन्तले शुक्रबार सरोकारवाला निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका थिए।

छलफलका क्रममा प्राधिकरण प्रमुख विजय महतोले पर्सौनी ग्रिडबाट छपकैया सब-स्टेसनसम्म ३३ केभी प्रसारण लाइन विस्तारको काम गत फागुनदेखि नै सुरु गरिएको भए पनि वडा नं. ४ स्थित बोखार चोक क्षेत्रमा निलम्बित मेयर राजेशमान सिंहका नातामा साढुभाइ पर्ने विनोद मानन्धर लगायतले पटक–पटक अवरोध गर्दै आएको जानकारी दिएका थिए।

बुधबार भूमिगत विद्युत लाइनमा समस्या आएपछि वैकल्पिक रूपमा पोलमार्फत तार तान्ने प्रयास गरिएको थियो। तर, मानन्धर पक्षले त्यसमा समेत अवरोध गरेपछि वडा नं. १, २, ३ र १६ लगायत आधा वीरगञ्जको विद्युत सेवा तीन दिनसम्म प्रभावित भएको बताइएको छ।

घटनाका क्रममा प्राधिकरणका कर्मचारी र मानन्धर पक्षबीच विवाद भएको थियो। पछि स्थानीयवासीको दबाबपछि अवरोध हटेपछि मात्रै प्राधिकरणले काम अघि बढाउन सकेको स्रोतले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्राधिकरण प्रमुख महतोले अवरोध हटिसकेको र काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन्। उनका अनुसार बलिरामपुर क्षेत्रमा राति ९ बजेसम्म र नगवा क्षेत्रमा साँझ ६ बजेसम्म विद्युत सेवा पूर्ण रूपमा सुचारु हुने अपेक्षा गरिएको छ।

घटनापछि स्थानीयवासीले सार्वजनिक सेवामा अवरोध पुर्‍याउने र शक्तिको दुरुपयोग गर्ने व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका छन्। प्रशासनले पनि विकास निर्माण तथा सार्वजनिक सेवामा अवरोध गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने संकेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close