अध्यक्ष यादवसहित ८ जनामाथि ६ दिन म्याद थप, क्यासिनो प्रकरणमा अनुसन्धान प्रभावित पार्ने चलखेलको आशंका

फोटो- एआई सांकेतिक

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न ६ दिनको म्याद थप गरिएको छ।

वीरगन्ज–गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट पक्राउ परेका उनीहरूमाथि प्रहरीले गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।

नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनले रोक लगाएको अवस्थामा जनप्रतिनिधि र प्रहरी अधिकृतसहितका व्यक्ति एउटै क्यासिनो परिसरबाट पक्राउ पर्नुले घटनामाथि गम्भीर प्रश्न खडा गरेको छ।

तर घटनापछि अनुसन्धानको केन्द्रमा रहेको विषयलाई कमजोर बनाउने गरी विभिन्न दाबी र तर्क सार्वजनिक हुन थालेका छन्। अध्यक्ष यादव जुवा खेल्न नभई इन्सपेक्टर पौडेलको फोनपछि मात्रै क्यासिनो पुगेको तथा उनी पुगेको केही समयमै प्रहरीले छापा मारेको जस्ता दाबी सार्वजनिक भएका छन्। यस्ता दाबीले घटनाको वास्तविकताबारे थप प्रश्नसमेत उठाएको छ।

अनुसन्धानको निष्कर्ष सार्वजनिक हुनुअघि नै विभिन्न दाबीमार्फत जनमत प्रभावित पार्ने वा घटनालाई विषयान्तर गर्ने प्रयास त भइरहेको छैन भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

अब अनुसन्धानको वास्तविक परीक्षा क्यासिनोको सीसीटीभी फुटेज, कल डिटेल रेकर्ड (CDR), प्रवेश विवरण तथा घटनास्थलमा भएका गतिविधिबाट हुने देखिएको छ।

विशेषगरी पक्राउ परेका व्यक्तिहरू क्यासिनोमा किन पुगे, उनीहरूबीच कस्तो सम्पर्क थियो, क्यासिनोभित्र के–कस्ता गतिविधि भए तथा प्रहरी छापा पर्नुअघि र छापा मार्ने क्रममा के–कस्ता घटनाक्रम भएका थिए भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

जनप्रतिनिधि होस् वा प्रहरी अधिकारी—कानुनभन्दा माथि कोही हुन सक्दैन। अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि प्रयास भए त्यसको समेत छानबिन हुनुपर्ने आवाज उठिरहेको छ।

म्याद थप भएसँगै प्रहरीले हल्ला, दबाब र सार्वजनिक दाबीभन्दा प्रमाणलाई आधार बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने चुनौती थपिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले अनुसन्धान कुनै पनि दबाब वा प्रचारबाट प्रभावित नहुने र प्रमाणका आधारमा कानुनबमोजिम निष्पक्ष अनुसन्धान अघि बढाउने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close