विश्वव्यापी विद्यार्थी ड्रोन प्रतियोगितामा बंगलादेशी टोली चौथो

विश्वव्यापी विद्यार्थी ड्रोन प्रतियोगितामा बंगलादेशी टोली चौथो

ढाका, असोज ६ । बंगलादेशको युनाइटेड इन्टरनेसनल युनिभर्सिटी (यूआईयू) को टोलीले अमेरिकाको ओक्लाहोमा राज्यस्थित तुल्सामा आयोजित २०२६ विद्यार्थी मानवरहित हवाई प्रणाली (एसयूएएस) प्रतियोगितामा चौथो स्थान हासिल गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागी भएको यूआईयू टोलीले उल्लेखनीय प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेको हो।

यूआईयूको एरियल रोबोटिक्स टोली (यूएआरटी) ले सेप्टेम्बर १४ देखि १७ सम्म तुल्सास्थित स्काइवेको रेन्जमा आयोजित अन्तिम चरणमा प्रतिस्पर्धा गरेको थियो। प्रारम्भिक चरणमा ८१ टोली सहभागी भएकामा अन्तिम चरणमा ५८ टोलीले उडान प्रदर्शन गरेका थिए।

सन् २००३ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न देशका विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाका टोली सहभागी हुँदै आएका छन्। कर्नेल विश्वविद्यालय, मोनास विश्वविद्यालय, ओहायो स्टेट विश्वविद्यालय, मेरील्यान्ड विश्वविद्यालय र वार्सा युनिभर्सिटी अफ टेक्नोलोजी लगायतका संस्थाका टोली पनि प्रतियोगितामा सहभागी थिए।

प्रतियोगिताका क्रममा उच्च हावाको गति र अत्यधिक तापक्रमसहित चुनौतीपूर्ण मौसमको सामना गर्नुपरेको थियो। यूआईयूका अनुसार उडान सञ्चालनका क्रममा २१ टोलीका ड्रोन दुर्घटनामा परेका थिए।

यूएआरटीले प्रतियोगिताका क्रममा वास्तविक समयमै प्राविधिक तथा रणनीतिक समायोजन गर्दै आफ्नो निर्धारित अभियान पूरा गरेको थियो। टोलीले सुरक्षा निरीक्षणद्रुत प्रतिक्रिया विधामा पूर्ण अंक प्राप्त गरेको थियो। साथै, आफ्नो अभियान पूर्ण रूपमा स्वचालित ढंगले सम्पन्न गर्ने टोली पनि यूएआरटी नै बनेको यूआईयूले जनाएको छ।

प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागी ८१ टोलीमध्ये ६७ टोली अन्तिम उडान प्रतिस्पर्धाका लागि छनोट भएका थिए। तीमध्ये ६४ टोलीले उडानका लागि आवश्यक स्वीकृति प्राप्त गरेपछि ५८ टोलीले अन्तिम उडानमा सहभागिता जनाएका थिए।

यूएआरटीले प्रयोग गरेको स्वचालित मानवरहित हवाई साधन अनुसन्धान, प्रणाली डिजाइन, इन्जिनियरिङ, निर्माण, परीक्षण तथा पटक–पटकको परिमार्जनपछि विकास गरिएको हो। यसमा स्वचालित मार्ग पहिचान तथा सञ्चालन, हवाई नक्साङ्कन, वस्तु पहिचान, सामग्री पुर्‍याउने क्षमता, अवरोध पहिचान तथा त्यसबाट बच्ने प्रणाली र विभिन्न सुरक्षा संयन्त्र समावेश छन्।

यूआईयूका अनुसार एसयूएएस प्रतियोगितामा बंगलादेशी टोलीले पहिलोपटक चौथो स्थान हासिल गर्दै शीर्ष तीन स्थानपछिको उत्कृष्ट प्रदर्शन गरेको हो।

यो उपलब्धिले अन्तर्राष्ट्रिय इन्जिनियरिङ तथा रोबोटिक्स प्रतियोगितामा बंगलादेशका विश्वविद्यालयका टोलीहरूको बढ्दो सहभागिता देखाएको छ। साथै, बंगलादेशका विश्वविद्यालयहरूले स्वचालित प्रणाली तथा हवाई रोबोटिक्स क्षेत्रमा अनुसन्धान र विकासलाई विस्तार गरिरहेको समयमा यो उपलब्धि आएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close